नेपालमै पहिलोपटक निर्माण भएको लिम्बू सांस्कृतिक संग्रहालय

ताप्लेजुङ:
उचित रेखदेख र संरक्षणको अभावले नेपालमै पहिलोपटक निर्माण भएको लिम्बू सांस्कृतिक संग्रहालयको अस्तित्व संकटमा पर्दै गएको छ । ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टीआरपीएपी)ले निर्माण गरेको यो संग्रहालय यस संस्थाको कार्यक्रम सकिएसँगै अलपत्र पर्न लागेको हो।

लिम्बू संस्कृतिको जगेर्ना गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ताप्लेजुङको मामाङखे गाविसमा १० वर्षअघि यो संग्रहालय निर्माण गरिएको थियो । संग्रहालय निर्माण भएको एक वर्ष नबित्दै संस्थाको कार्यक्रम सकिएपछि यो महत्वपूर्ण सांस्कृतिक सम्पदाको अस्तित्व संकटमा परेको हो।

 
लिम्बू जातिको मौलिक संस्कृति झल्कने विभिन्न सामग्री संग्रह गरी राखिएको यो संग्रहालय त्यति बेला १३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्थानीयवासी टीका मावोले जानकारी दिए।संग्रहालय हाल आएर आर्थिक समस्याका कारण पनि संकटमा परेको उनले बताए।

संस्थाको कार्यक्रम सकिएपछि र अन्य संस्था र निकायले यसको संरक्षण र व्यवस्थापन गर्न चासो नदेखाएपछि गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने आफूहरूको सपना पनि अधुरै रहेको मावो बताउँछन्।टीआरपीएपीले ताप्लेजुङको मामाङखे, तेल्लोक, खेवाङ, फावाखोला, फुरुम्वु र लिङ्खिम गाविसमा पर्यटन विकाससम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरेको थियो।

सोही क्रममा मामाङखेमा लिम्बू संग्रहालय स्थापना गरिएको हो। कार्यक्रम सकिएपछि जिविस ताप्लेजुङले संग्रहालय सञ्चालन निर्देशिका जारी गरी स्थानीय बासिन्दालाई संग्रहालय हस्तान्तरण गरेको जिविस ताप्लेजुङका शाखा अधिकृत दुर्गा श्रेष्ठले बताए। तर, संग्रहालय व्यवस्थापन र पर्यटन क्षेत्रमा लगानी गर्न जिविसमा आन्तरिक कोष नभएकाले यसको व्यवस्थापन र संरक्षण गर्ने कार्यलाई जिविसले पुनः निरन्तरता दिन नसकेको पनि उनले जानकारी दिए।

नेपालको पूर्वी क्षेत्रमा रहेका प्राचीन लिम्बू समुदायको इतिहास, संस्कृति र परम्परा भल्कने सामग्री संग्रह गरी गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संग्रहालय स्थापना गरिएको हो। विश्वकै तेस्रो अग्लो शिखर कञ्चनजंघा प्रवेश गर्ने पदमार्गमै स्थापना गरिएको संग्रहालयको उचित संरक्षण र व्यवस्थापन हुन सके यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आउने कञ्चनजंघा भूपरिधि सरोकार समूह ताप्लेजुङका अध्यक्ष किशोर राई बताउँछन्।

स्थानीय बासिन्दा भने ऐतिहासिक यस संग्रहालयको व्यवस्थापनका लागि गाविस, जिविस र पर्यटनसँग सम्बन्धित संघसंस्थासम्म पुगेर सहयोगको अपिल गर्दा पनि कसैबाट वास्ता नगरिएको बताउँछन्।


सीता निरौला, अन्‍नपूर्ण पोस्ट्, | २०७३ बैशाख ८ बुधवार